पर्वत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका सदस्य शोभा रिमालले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न वितरण गरेकी छन् । उनले शनिबार कुश्मा नगरपालिका वडा नं २ मा रहेको सुर्योदय आधारभूत विद्यालय खुर्कोटमा दाल,चामल,नुन,तेल,साबुन लगायत विद्यालयमा आवश्यक ७ हजार बराबरको खाद्यान्न बितरण गरेकी हुन ।
रिमालले पछिल्लो समय जन्मदिनमा फजुल खर्च गर्ने परिपाटी बढदै गइरहेको अवस्थामा आफुले थोरै भए पनि सहयोग गरौं भन्ने उदेश्यले खाद्यान्न वितरण गरेको बताइन् । उनले सामाजिक काम गर्दा मनमा आनन्द मिल्ने बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने बताइन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि खाद्यान्न सहयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक नारायणदत्त भट्ट र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गणनाथ शर्माले धन्यवाद दिएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्की शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्यक्ष मन्जु विश्वकर्माले र कार्यक्रमको संचालन सचिव सीता पौडेलले गरेकी थिइन । कार्यक्रमको बारेमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष दीपक गदालले प्रकाश पारेका थिए ।
यस विद्यालयमा फरक क्षमता भएका १० जना विद्यार्थी अध्ययनरत छन् ।





