पिपलटारीमा पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको तेस्रो मेला सम्पन्न

11

पर्वत । कुश्मा नगरपालिका–१०, पिपलटारीस्थित पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजद्वारा आयोजित तेस्रो मेला कृषि प्रदर्शनी, खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ। असोज २९ गतेदेखि सुरु भएको मेला असोज ३१ गते सम्पन्न भएको हो।

दशैंको अवसर पारेर आयोजना गरिएको मेलामा कृषि प्रदर्शनी, विभिन्न खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। मेलाको उद्घाटन कुश्मा नगरपालिकाका नगर उपप्रमुख स्वस्थानी रिजालले गर्नुभएको थियो भने समापन समारोहमा गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

मेलाको मुख्य आकर्षणका रूपमा रहेको पुरुष भलिबल प्रतियोगितामा भगरा प्रथम भएको छ। आयोजक पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाज दोस्रो हुँदा कुश्मा नगरपालिका–३, दुर्लुङ तेस्रो भएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ५१ हजार १५१ रुपैयाँ, ३० हजार ३३३ रुपैयाँ र १५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

मेलामा म्युजिकल चियर प्रतियोगिता, कृषि प्रदर्शनी, कपासको ज्योति बनाउने प्रतियोगिता तथा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितासमेत आयोजना गरिएको थियो। विभिन्न प्रतियोगितामा सहभागी स्थानीय तथा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

दशैंको अवसरमा भूतपूर्व विद्यार्थीहरूलाई एकै ठाउँमा भेला गराउने, गाउँको पहिचान प्रवर्द्धन गर्ने र खेलकुदको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको समाजका अध्यक्ष सन्तोष पौडेलले बताउनुभयो। उहाँका अनुसार मेलाले आपसी सद्भाव, सामाजिक एकता र स्थानीय प्रतिभाको पहिचानमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

मेलाको समापन समारोहमा चर्चित लोकदोहोरी गायक कृष्ण अखेली र मनु राना मगरले सांगीतिक प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो।

समाजका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दामोदर पौडेलले गर्नुभएको थियो।

पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजले शैक्षिक उन्नयनसँगै विभिन्न सामाजिक गतिविधिमा समेत योगदान पुर्‍याउँदै आएको छ। समाजले आयोजना गर्ने यस्ता कार्यक्रमले स्थानीय कला, संस्कृति, खेलकुद र सामाजिक सम्बन्धको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

[sidebar name="After post"]