पर्वत । विश्व क्षयरोग दिवसका अवसरमा पर्वतमा स्वास्थ्यकर्मी र पत्रकारहरु बिच अन्तरक्रिया गरिएको छ । ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने मुलनाराका साथ स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा स्वास्थ्यकर्मी र पत्रकारहरु बिच अन्तरक्रिया गरिएको हो । स्वास्थ्य कार्यालय पर्वतका अनुसार पर्वतमा ४५ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । १३ जना महिला र ३२ जना पुरुषमा क्षयरोग भेटिएको जनाएको छ । गएको साउन यता ४५ जना क्षयरोगका विरामी फेला परेको पर्वत अस्पतालका डाक्टर दिपक रेग्मीले जानकारी दिनुभयो । रेग्मीले विरामीहरले नियमित रुपमा औषधी सेवन गरिरेहेका बताउँनुभयो । अघिल्लो आर्थिक बर्ष २०७८÷०७९ मा पर्वतमा ६७ जना क्षयरोगका बिरामी फेला परेका थिए । अघिल्लो आर्थिक बर्षभन्दा यो बर्ष क्षयरोगका बिरामीको संख्यामा कमी आएको रेग्मीले बताउँनुभयो ।
स्वास्थ्य कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिकामा ३ जना, जलजला गाउँपालिकामा २ जना, कुश्मा नगरपालिकामा १८ जना, फलेवास नगरपालिकामा ६ जना, महाशिला गाउँपालिमा शुन्य, बिहादी गाउँपालिमा ५ जना र पैयुँ गाउँपालिमा ११ जना क्षयरोगका बिरामीहरु फेला परेका छन् । महाशिला गाउँपालिकाले भने क्षयरोग पहिचान गर्न आनाकानी गरिरहेको स्वास्थ्य कार्यालयले बताएको छ ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, पर्वत शाखाका अध्यक्ष सन्तोष थापा लगायतले मनतव्य राख्नुभएको थियो । स्वास्थ्य कार्यालय पर्वतका निमिक्त प्रमुख जयन्द्रमान गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत पर्वतका अस्पतालका फोकल नर्स सुमन शर्माले र सञ्चालन स्वास्थ्य कार्यालय पर्वतका फोकल पर्सन नारायण रेग्मीले गर्नुभएको थियो ।
क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक किटाणुबाट अत्यन्त छिटो सर्ने रोग हो । क्षयरोग बिरामीले खोक्दा वा हाँच्छुय’ गर्दा खकरमा भएका क्षयरोगहरु बाहिर हावामा निस्कन्छन् । र यिनै किटाणुहरु श्वासप्रश्वासको माध्यमबाट स्वास्थ्य मानिसको फोक्सो भित्र प्रवेश गरेर यो रोग लाग्छ । जुनसुकै उमेरका व्यक्तिलाई र रोगसँग लड्ने क्षमता कम भएकालाई क्षयरोगले सजिलै आक्रमण गर्छ । क्षयरोगको बिरामीले नियमित ६ महिनासम्म औषधी सेवन गर्नु पर्दछ । नियमित उपचार गरेमा क्षयरोग पूर्ण रुपमा निको हुन्छ । क्षयरोगको औषधी सबै सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईन्छ । नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोगको अन्त्य र सन् २०५० सम्ममा पूर्ण निवारणको लक्ष्य लिएको बताउने गरेको छ ।
क्षयरोगका लक्षणहरू
– तौल कम हुने र खाना मन लाग्ने
–छाती दुख्ने
–ज्वरो आउने
–राति धेरै पसिना आउने
– औषधि सेवनपछि खोकी ठीक नहुनु
बच्ने उपाय
– दुई साताभन्दा बढी समय खोकी लागेमा तुरुन्तै चिकित्सकका जाने
– संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा रहने
– भीडभाडमा मास्क प्रयोग गर्ने
– धेरै खोकी लागेमा वा खकारमा रगत देखिएमा तुरुन्तै खोकीको जाँच गर्नुपर्ने
– पर्याप्त मात्रामा पोसिलो तथा झोलिलो पदार्थ सेवन गर्ने





