महाशिला–५ मा प्लास्टिक झोला विस्थापन, लागू औषध–मदिरा नियन्त्रण तथा बालमैत्री वडा सम्बन्धी अभिमुखीकरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

1

पर्वत । महाशिला गाउँपालिकामा प्लास्टिक झोला विस्थापन, लागू औषध तथा मदिरा नियन्त्रण, बाल क्लब सञ्जालिकरण र बालमैत्री वडा स्थापनार्थ अभिमुखीकरण कार्यक्रम तथा आर्थिक वर्ष २०८२/०८३ को चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम महाशिला गाउँपालिका वडा नं ५ मा सम्पन्न भएको छ।

कार्यक्रम महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालको प्रमुख आतिथ्यता तथा वडा नं ५ का अध्यक्ष चन्द्र बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको हो।
प्लास्टिक झोला विस्थापन, लागू औषध तथा मदिरा नियन्त्रण, बाल क्लब सञ्जालिकरण तथा बालमैत्री वडा स्थापनार्थ सम्बन्धी अभिमुखीकरणको सहजीकरण महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डेले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक तथा स्थानीय नागरिकहरूलाई प्लास्टिक झोलाको प्रयोगले वातावरणमा पार्ने नकारात्मक प्रभाव, यसको विकल्प तथा विस्थापनका उपायहरू, लागू औषध र मदिरा नियन्त्रणका लागि गरिएका विभिन्न पहलहरू तथा बाल क्लबहरूको सञ्जालिकरणमार्फत बालमैत्री वातावरण निर्माणका लागि आवश्यक शिक्षा र जनचेतनाबारे जानकारी गराइएको थियो।

यस्तै, चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष भुसालले समग्र महाशिला गाउँपालिकाको विकासका लागि पालिका निरन्तर रूपमा क्रियाशील रहेको बताउनुभयो।

कार्यक्रममा वडा नं ५ का वडासदस्य तिलक जैशीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दिपेश वि. पोखरेलले गर्नुभएको थियो।
कार्यक्रमको अवसरमा बाल सञ्जालका पदाधिकारीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।

[sidebar name="After post"]