पर्वत/देशैभरका सहकारीहरू सङ्कटको अवस्थामा रहेको बेलामा पर्वत जिल्लामा पहिलो पटक दुई सहकारी ‘मर्ज’ भएर कारोबार सुरु गरेका छन् ।
२०६८ सालमा ५४ जना सेयर सदस्य बनाएर स्थापना भएको प्रतिफल बचत तथा ऋण सहकारी संस्था लि. र २०७३ सालमा एक सय सात जना सेयर सदस्य रहेर स्थापना भएको पौरखी कृषक कृषि सहकारी एकीकरण भएपछि बुधबारदेखि एकीकृत कारोबार सुरु भएको हो ।
सहकारीका लेखा तथा सुपरिवेक्षण समिति संयोजक शिवप्रसाद शर्माले दुवै सहकारीमा रहेका केही सदस्यहरू साझा भएका तथा एकीकृत रूपमा सञ्चालन गर्न दुवै समितिहरू तयार भएपछि एकीकरण गरिएको हो । साझा सेयर सदस्यहरू भएको अवस्थामा दुई वटा सहकारी सञ्चालन गर्दा कार्यालय व्यवस्थापन, कर्मचारीहरूको तलब, लगायतका कुराहरूमा पनि अनावश्यक खर्च भएकोले दुवैलाई एकीकरण गर्दा खर्च नै आधा कटौती हुने उनले बताए ।
‘दुवै सहकारीका केही सदस्यहरू साझा हुनुभयो । उही व्यक्ति रहेको बेलामा दुई वटा कार्यालयहरू सञ्चालन गर्दा कार्यालय व्यवस्थापन र कर्मचारीमा दोब्बर खर्च भयो । दुवै सहकारीहरू एक अर्काको हिसाबमा स्पष्ट भएपछि एकीकरणमा समस्या भएन’, उनले भने, ‘प्रतिफल सहकारी स्थापना हुने बेलामा कुश्मामा ४÷५ वटाभन्दा सहकारी थिएनन् । पुरानो अस्तित्व भएका सहकारी नै मर्ज भएपछि हामी अरूका लागि उदाहरण बन्न सक्छौँ भन्ने पनि लागेको छ ।’
सहकारीका क्षेत्रमा आएका समस्याले सहकारी बन्द हुने अवस्था आएको बेलामा सहकारीको अस्तित्व रक्षा गर्दै सहकारीको मर्म अनुसार चल्नको लागि पनि अब सहकारीहरू एकीकरण हुनुपर्ने अवस्था आएको उनको भनाई छ । सहकारीमा समस्याहरू नआउन र जिल्लामा रहेका अन्य सहकारीहरू पनि एकीकरण भएर बलियो रूपमा सञ्चालन होउन् भन्नका लागि पनि आफूहरू उदाहरणीय भएको एकीकरणपछि बनेको सहकारीका समितिका अध्यक्ष मोहन आचार्यले बताए ।
‘सहकारीहरू समस्यामा नरहुन्, यहाँका अरू सहकारीले पनि सिकेर मर्ज गरुन् र संस्थालाई बलियो बनाउ भन्ने पनि हाम्रो मनसाय हो । सहकारीको सङ्ख्या धेरै हुँदैमा मात्रै आर्थिक प्रगति हुँदैन बरु आर्थिक रूपमा संस्था बलियो हुनुपर्छ भन्ने सबैको सोच हुनुपर्छ’, उनले भने, ‘सहकारीहरूमा पछिल्लो समयमा तरलताको समस्या भोगिरहेका छौँ । १÷२ वटा सहकारीमा समस्या आउँदा बित्तिकै बचतकर्ताहरूले घेर्न थालेको अवस्था थियो । हामीले यसलाई पनि व्यवस्थापन गर्दै आइरहेका छौँ ।’
एकीकरणपछि बनेको प्रतिफल बचत तथा ऋण सहकारी संस्थाको कुल शेयर रकम एक करोड ७१ लाख तीन हजार, कुल कोष ८१ लाख ९१ हजार, निक्षेप दुई करोड चार लाख ४० हजार, ऋण लगानी चार करोड, ४६ लाख ९९ हजार र स्थिर सम्पत्ति एक लाख ३२ हजार रहेको छ । सहकारीले आधुनिक सूचना प्रणालीमा सदस्यलाई जोड्ने, तालिम तथा शिक्षामा जोड दिँदै सदस्यता प्रदान गर्नलाई सहजताको नीति अख्तियारी गरेर पाँच वर्ष भित्र दुई हजार पाँच सय सदस्य बनाउने लक्ष्य लिएको छ ।
कुश्मा नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले सहकारीहरू पूर्णतः नियम र सिद्धान्तभन्दा बाहिर गएर सञ्चालन गरिँदा समस्या आएको बताउँदै संस्थाले ऐन र कार्यविधि अनुरूप स्वनियमनमा सञ्चालन हुनुपर्ने बताउँछन् । सदस्यता प्रदान गर्दा ऐन नियम र संस्थाको विनियमलाई ध्यानमा राख्न साथै सदस्यहरूलाई सहकारीको तालिम, शिक्षा र सूचना प्रणालीले एकाकार गर्नुपर्ने उनको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत गौतमले कुश्मा नगरपालिकाले सहकारीहरूबिच एकीकरण गर्ने कुरालाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख गरे ।
पर्वतमा पहिलो पटक दुई सहकारी गाँभिए, प्रतिफल र पौरखले थाले एकीकृत कारोबार
[sidebar name="After post"]





