पर्वत । निरन्तरको वर्षाले महाशिला गाउँपालिकामा पहिरो जादाँ एक करोडमा निर्माण भएको सिचाइ कुलो बगाएको छ भने विभिन्न ठाउँमा क्षति पु¥याएको छ । पहिरोले महाशिला गाउँपालिका वडा नं ५ लुखु अधेरीखोलामा गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको एक करोड लागत बराबरको सिचाइ कुलो बगाएको हो । महाशिला गाउँपालिका वडा नं ४ दियालीडाडका करिब २० हल खेत रोप्ने सिचाई कुलो बगाए पछि स्थानिय चिन्तित छन् । यसै वर्षबाट सञ्चालनमा आएको कुलो पहिरोले बगाउँदा खेतमा हुर्किदै गरेको धानमा पानी लगाउँन समस्या हुने स्थानिय उमेश गुरुङले बताए । गुरुङले पहिरो सहित बाढी आउँदा अधेरीखोला स्थित केही धानखेत बगरमा परिणत भएको समेत जानकारी दिए ।
यस्तै अविरल वर्षाका कारण महाशिला गाउँपालिका जोड्ने काफ्लडाड जन्तेबाट ठुलो पहिरो खस्दा लुंखु बालकोट सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुदाँ स्थानियलाई पालिका आवतजावतमा समस्या भएको स्थानिय सुरज पौडेलले बताए । उनले भने,“पहिरोका कारण बालकोट लुंखु सडक ठप्प छ, भने पहिरोले काफ्लडाड पात्लेको बस्ती नै जोखिममा परेको छ ।”





