पर्वत, असार २८। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा दिनभर परेको अविरल वर्षाका कारण मोदी खोलामा पानीको बहाव अत्यधिक बढ्न सक्ने सम्भावना देखिएको छ।
यस अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतले मोदी खोला किनार तथा तटीय क्षेत्र आसपास बसोबास गर्ने, व्यवसाय सञ्चालन गर्ने तथा आवतजावत गर्ने सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार नदीमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले अनावश्यक रूपमा नदी किनारमा नजान, जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकले आवश्यक सावधानी अपनाउन तथा कुनै पनि आपत्कालीन अवस्था आएमा तत्काल नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतले मौसम तथा नदीको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाएको छ।





