महाशिलाले ल्यायो ४६ करोड ४७ लाखको बजेट, शिक्षा–कृषि–पूर्वाधारमा विशेष प्राथमिकता

75

पर्वत, असार १० — पर्वतको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड ४७ लाख ४८ हजार ४९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको २०औँ गाउँसभामा उपाध्यक्ष धनसुवा विकले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो।

गाउँपालिकाले आगामी वर्षको बजेटमार्फत शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। बजेट प्रस्तुत गर्दै उपाध्यक्ष विकले गाउँपालिकाको समग्र विकास, उत्पादन वृद्धि, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा नागरिकको जीवनस्तर उकास्ने उद्देश्यका साथ बजेट ल्याइएको बताउनुभयो।

यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमअनुसार ‘समृद्ध गाउँपालिका, सुखी नागरिक’को अवधारणालाई कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

शिक्षा क्षेत्रतर्फ विद्यालयहरूमा प्रविधिमैत्री सिकाइ प्रणाली विस्तार गरिने भएको छ। डिजिटल शिक्षण, रियल–टाइम सिकाइ मूल्याङ्कन प्रणाली सञ्चालन, स्थानीय पाठ्यक्रम परिमार्जन तथा आवासीय विद्यालय कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको छ। विद्यार्थीको सिकाइ उपलब्धि अभिभावक तथा गाउँपालिकासम्म प्रत्यक्ष रूपमा पुग्ने व्यवस्था मिलाइने जनाइएको छ।

कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउन उत्पादनमा आधारित अनुदान, कृषि ऋणको ब्याजमा सहुलियत, कृषि एम्बुलेन्स सेवा तथा ‘प्रोडक्ट अफ महाशिला’ अभियान सञ्चालन गरिने भएको छ। स्थानीय उत्पादनको बजारीकरणलाई समेत विशेष प्राथमिकता दिइएको छ।

पूर्वाधार विकासअन्तर्गत वाइचोक–दुक्तान सडक स्तरोन्नतिका लागि १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। साथै फलामखानी, होसाङ्दी, बारेडाँडालगायतका सडक योजनालाई निरन्तरता दिइने तथा विभिन्न वडा जोड्ने सडकहरूको स्तरोन्नति र सरसफाइ कार्यक्रम सञ्चालन गरिने भएको छ।

स्वास्थ्य क्षेत्रतर्फ आवश्यक औषधि खरिदका लागि १७ लाख रुपैयाँ तथा महाशिला आधारभूत अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरण खरिद गर्न ३० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ। घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रमलाई थप प्रभावकारी बनाइने गाउँपालिकाको योजना छ।

पर्यटन प्रवर्द्धनका लागि महाशिला शिला क्षेत्र, पैयूँकोट, फलामखानीलगायतका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार, पूर्वाधार विकास तथा धार्मिक पर्यटन विस्तारका कार्यक्रम अघि सारिएका छन्। ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि बजेटले प्राथमिकतामा राखेको छ।

यस्तै, युवा, महिला, दलित, ज्येष्ठ नागरिक तथा सामाजिक क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिँदै सुशासन, सेवा प्रवाह सुधार र स्थानीय रोजगारी अभिवृद्धिमा विशेष जोड दिइएको छ।

गाउँसभामा अध्यक्ष भुसालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने सोही नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उपाध्यक्ष विकले बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित भएको छ।

[sidebar name="After post"]