होश्राङ्दीमा निःशुल्क आँखा शिविर सम्पन्न

9

६ असार, पर्वत-पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । स्थानीय चन्द्र ज्योति युवा पुन्ज र रंगेली समूहको आयोजना, सूर्य माध्यमिक विद्यालयको सह–आयोजना तथा नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल घारीपाटन, पोखराको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो ।

‎ ‎शिविरमा २ सय ६१ जनाले आँखा परीक्षण गराएको कार्यक्रम संयोजक सागर भुसालले जानकारी दिनुभयो। परीक्षणका क्रममा १७ जनामा मोतियाविन्दुको समस्या देखिएको र उनीहरूलाई असार ९ गते स्याङ्जाको वालिङ स्थित गह्रौं–घ्याङ्लिङ अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको उहाँले बताउनुभयो। ‎ ‎

कार्यक्रमका प्रमुख अतिथि तथा महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालले गाउँपालिकाले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न विशेष प्राथमिकता दिएको बताउँदै यस्ता शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले सामाजिक संस्थाहरूको सक्रियतामा सञ्चालन हुने यस्ता जनमुखी कार्यक्रमलाई गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । ‎ ‎वडा अध्यक्ष तिल बहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका भूपू अध्यक्ष पदमबहादुर क्षेत्रीको स्वागत मन्तव्य र कार्यक्रमको सञ्चालन संयोजक सागर भुसालले गर्नुभएको थियो।

[sidebar name="After post"]