पर्वत । मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामसम्बन्धी विषयलाई सञ्चारमाध्यममार्फत जिम्मेवार र संवेदनशील ढंगले प्रस्तुत गर्ने उद्देश्यले प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतले सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतको आयोजनामा २०८३ असार २ गते सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख बद्रीराज आचार्यको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रदेश अस्पताल पर्वतकी मेडिकल अधिकृत डा. सलिना पौडेल तथा प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सन्देश पोखरेलले सहजीकरण गरेका थिए।
कार्यक्रममा मानसिक स्वास्थ्य तथा आत्महत्या जस्ता संवेदनशील विषयमा सञ्चारमाध्यमको भूमिका, जिम्मेवार समाचार सम्प्रेषणका मापदण्ड, आत्महत्यासम्बन्धी समाचार प्रकाशन–प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी तथा सकारात्मक सन्देश प्रवाहका विषयमा छलफल गरिएको थियो।
सहजीकरणका क्रममा वक्ताहरूले मानसिक स्वास्थ्यसम्बन्धी गलत धारणा र सामाजिक कलंक न्यूनीकरण गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै जोखिममा रहेका व्यक्तिलाई सहयोग खोज्न प्रेरित गर्ने खालका समाचार तथा सामग्री उत्पादन गर्न आग्रह गरेका थिए।
कार्यक्रमको मुख्य उद्देश्य मानसिक स्वास्थ्यसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्नु, आत्महत्यासम्बन्धी गलत धारणा न्यूनीकरण गर्नु, जोखिममा रहेका व्यक्तिहरूलाई समयमै सहयोग खोज्न प्रेरित गर्नु तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
नेपाल पत्रकार महासंघ पर्वत शाखासँग आबद्ध विभिन्न सञ्चारमाध्यममा कार्यरत १६ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामसम्बन्धी विषयलाई थप प्रभावकारी ढंगले जनस्तरसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।





