देउँसीभैलोबाट संकलित रकमले आमा समूहलाई बाद्यबादनका सामग्री प्रदान

6

देउँसीभैलोबाट संकलित रकमले आमा समूहलाई बाद्यबादनका सामग्री प्रदान
सामाजिक कार्यमा क्रियाशील समावेशी युवा क्लब, महाशिला–५ लुंखुलेले देउँसी–भैलो कार्यक्रमबाट संकलित रकमले स्थानीय आमा समूहहरूलाई बाद्यबादन सामग्री प्रदान गरेको छ।
कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय रामजानकी आमा समूह, प्रगतिशील आमा समूह, देवकी आमा समूह, सिर्जनशील आमा समूह र मिलनसार आमा समूहलाई मादल तथा छ्याइँकुरी वितरण गरिएको हो।
शुभ दीपावली २०८२ सालको अवसरमा सञ्चालन गरिएको देउँसी–भैलो कार्यक्रमबाट संकलित रकमबाट उक्त सामग्री वितरण गरिएको क्लबले जनाएको छ।
देउँसी–भैलो खेलेर संकलित रकम प्रायः मनोरञ्जनात्मक कार्यमा खर्च हुने प्रचलन बढिरहेका बेला समावेशी युवा क्लबले गरेको यो कार्य प्रशंसनीय भएको स्थानीयवासीले बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथि महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा विकले युवाहरूले गरेको यो कार्य उदाहरणीय रहेको बताउनुभयो। उहाँले युवाहरू समाज रूपान्तरणका संवाहक भएको उल्लेख गर्दै फजुल खर्च कटौती गरी सामाजिक अभियान सञ्चालन गर्नु प्रशंसा योग्य भएको बताउनुभयो।
क्लबका अध्यक्ष सागर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी दिपेश वि. पोखरेलले गर्नुभएको थियो।
समावेशी युवा क्लबले गाउँपालिका भित्र विभिन्न सामाजिक अभियान तथा रचनात्मक कार्यहरू गर्दै आइरहेको छ।

[sidebar name="After post"]