काठमाडौं । पर्वत जिल्लाको विकास र समृद्धिको सम्भावना पहिचान गर्न पर्वत विकास समाज, काठमाडौंले राजधानीमा वृहत् भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित ‘पर्वतको विकासको सम्भावना र अवसरको पहिचान’ नामक कार्यक्रममा जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता, पूर्वप्रशासक तथा विभिन्न क्षेत्रका विज्ञहरूले पर्यटन, कृषि र पूर्वाधार विकासको भावी मार्गचित्रबारे गहन मन्थन गरेका छन् ।
कार्यक्रममा राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिम्सिना, प्रतिनिधिसभा सदस्य पदम गिरी, नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशी, संविधानसभा सदस्य विकास लम्साल र पूर्वमुख्यसचिव शंकरदास वैरागीलगायतको उपस्थिति थियो । यसका साथै, पर्वतलाई थातथलो बनाई काठमाडौंमा विभिन्न पेशा, व्यवसाय र बौद्धिक क्षेत्रमा स्थापित व्यक्तिहरू उल्लेख्य सहभागी थिए ।
भेलामा सहभागीहरूले पर्वत जिल्लामा लुकेर रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार, कृषि उपजको आधुनिकीकरण र बजारीकरण, तथा आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका थिए । उनीहरूले सामूहिक र एकीकृत पहलबाट मात्र जिल्लाको मुहार फेर्न सकिने धारणा राखे ।
कार्यक्रममा प्रा.डा. चन्द्रबहादुर श्रेष्ठले पर्वतको समग्र विकासको अवस्था, सम्भावना र चुनौती समेटिएको एक विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा तथ्यांकसहित जिल्लाको विकासका लागि तत्काल गर्न सकिने र दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने योजनाबारे उल्लेख गरिएको थियो ।
पर्वतको विकासका लागि राजनीतिक, प्रशासनिक र बौद्धिक तहबाट एकीकृत प्रयास थाल्ने उद्देश्यले आयोजित यो भेलालाई एक महत्त्वपूर्ण सुरुवातको रूपमा हेरिएको सहभागीले बताएका छन् ।
भेलाले निकालेका निष्कर्षलाई कार्यान्वयन तहमा लैजान निरन्तर सहकार्य गर्ने प्रतिबद्धतासमेत सहभागीहरूले व्यक्त गरे ।