महाशिला बासीमा प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेको — दशैं शुभकामना पत्र

487

प्रिय

महाशिला गाउँपालिकालाई माया गर्नेहरु,

यो वर्षको दशैं घर आँगनमा आइसकेको छ । डिलमा, बारीमा फूल फूलेर कति रमाइलो देखिएको छ होला । घर वरिपरि सरसफाइ गरेर कति राम्रो देखिएको छ होला । रातो माटो र कमेरोले घर लिप्दै गर्दा कति रमाइलो भएको छ होला । घर छोडेर पर गएका छोराछोरी आउने बाटो हेर्दै गरेका ति आँखामा कति रहरका फूल फूलेका होलान । अब त दशैं तिहारको छुट्टि हुन्छ भन्दै बाख्राका पाठाजस्तै बुर्कुसी मारेका केटाकेटीहरुको मन कति खुलेको होला । आकास पनि अब त दशैंको नीलो रङ्ग पोतेर देखिन थालेको छ । धन्न आउँछ हरेक वर्ष यो दशैं र रमाउने बहाना दिन्छ नि हामीलाई ।

तपाईंलाई सम्झेर यसरी पत्र लेख्न मन लागेको धेरै पहिले हो, तर साइत जुरेको रहेनछ । सायद यो दशैंले त्यो साइत बोकेर आएको रहेछ । यो प्यारो माटोमा आएको आज २८४ दिनपछि तपाईलाई सम्बोधन गरेर यो पत्र लेखेको छु , आशा छ यो पत्रले हाम्रो साइनोलाई झनै बलियो बनाउनेछ– खरका त्यान्द्रा त्यान्द्रा जोडेर बनाएको पिङ्ग जस्तै गरी ।

सानो स्थानीय तह । रमाइला ठाउँहरु । गज्जबका मान्छेहरु । प्यारा मनहरु । ठाउँ रमाइलो कि यहाँका मान्छेको मन कोमल? म छुट्याउन सक्दिन । देशका लगभग ४५ जिल्लाका गाउँमा पुगेको छु, तर यहाँका तपाईंहरुजस्ता मान्छे कमै भेटेको छु । ठूला सपना त छैनन, तर सानै भए पनि सुखका सपना देख्नुभएको छ, खुशीका रहर कोर्नुभएको छ । सम्बन्ध सधैं आत्मिय हुनुपर्छ भनेर व्यवहार गर्नुहुन्छ– यहि नै सबैभन्दा सम्पत्ति हो हजुरको । म बस्ने दहको यो घरको आँगनमा काखमा ल्यापटप राखेर मैंले यो लेखिरहँदा मीठो घाम लागेको छ, टाउकामाथिको आकासमा एउटां जहाज पूर्वतिर उडिरहेको छ, गोठमा बाख्राका सेता पाठाहरु मतिर हेरेर बसेका छन, झालैभरि गीठा झुण्डिएका छन, बारीमा कोदो फूलेको छ, भटमासका झ्याङ्ग हर्लक्कै बढेका छन– यि सबै सबै परिवेशमा मेरो मनभरि महाशिलालाई माया गर्ने हजुर हुनुहुन्छ । उत्तीस घारीबाट एउटा मीठो हावाको लहर बग्दै बग्दै आएर मेरो कपाल हल्लाएको छ– जसरी तपाईंको मायाले मेरो मन तलको सेतीखोलाको पानीमा लहर आए जस्तै बनेको छ । यो सबै तपाई र मेरो साइनोको प्रमाण हो ।

भूगोलले अलि अफ्ठेरो ठाउँ छ हाम्रो गाउँ, तर सुन्दर छ नि त । कुन गाउँ होला महाशिलाभित्रको जसलाई देखेर मान्छेहरु आहा भन्न नसकुन । केहि दिन अघि म फलामखानीको डाँडोमा गएर त्यहाँबाट देखिएको गज्जबको दृश्य खिचेर इन्टरनेटमा राखेको थिएँ, त्यो देखेर कति साथीहरुले कम्तिमा त्यो डाँडोमा यही सिजनमा घुम्न आउने भनेर बाचा गरेका छन । त्यसै गरी देखाउने हो भने पैयूँकोटतिरको भूगोललाई, झनै कति रहर पलाउँदा हुन देख्नेहरुका मनमनमा? भोक्सिङ्गको आलु खाएका पोखरेलीहरुले पटक पटक सम्झाउँछन मलाई त्यो आलुको स्वाद र पोखरा आउँदा रित्तै नआउनु है भन्दै आग्रह गर्छन । लुँखु त धेरै पहिले देखि नै चिनिएको ठाउँ हो । महाशिला नजानेका मान्छे पनि लुँखु देउराली सुनेका छन, जानेका छन । त्यसको एक प्रमाण म आफैं पनि हो । म यहाँ नआउँदा पनि लुँखु देउरालीको बारेमा धेरै सुनेको थिएँ अनि मनमनै सोंचेको थिएँ– कुनै बेला त म पनि जानेछु त्यहाँ । भयो पनि त्यस्तै, तपाईंहरुकै सेवा गर्न भनेर भावीले लेखेको रहेछ मेरो निधारमा, यही आइपुगें– तपाईंको आँगनमै । मैंले तपाईंलाई यो किन पनि भनेको भने महाशिला लुकेको छैन, बाहिर दुनियाँमा पहिले देखि नै चिनिएको ठाउँ हो । कति ठाउँ छन हाम्रै परिवेशमा, जसको बारेमा खासै बाहिर चर्चा सुनिन्न । तर तपाईंको महाशिला गाउँपालिकालाई नचिन्ने कमै छन । अनि तपाईं पनि त त्यस्तै हुनुहुन्छ नि, तपाईंको त्यो मन र व्यवहार बुझेपछि कसले पो बिर्सला र

गाउँपालिकाको विकास र समृद्धिको बारेमा पछि अर्को पत्रमा भलाकुसारी गरौंला । तपाईंले पनि यस्तै पत्र लेखेर पठाउनुभयो भने म झनै खुशी हुनेछु । यो पत्र केबल तपाईंलाई दशैंको दक्षिणा मात्रै हो । तपाईं सबैलाई मेरो यो चिठीको आँगनैभरि कालो काम्लो ओछ्याएर राखेको छु । लस्करै बस्नुभएको छ तपाईंहरु– गाउँका सबै बाआमा, दाइ भाउजू, भाइ बहिनीहरु । अनि तपाईंहरुले नै चुनेर पठाउनुभएका जनप्रतिनिधीहरु, गाउँपालिकामा सेवा गर्न खट्नुभएका मेरा प्यारा सहकर्मी साथीहरु, विद्यार्थीहरुको जीवन सुन्दर बनाउन मन–बचन–कर्मले लाग्नुभएका सम्पूर्ण शिक्षकज्यूहरु पनि । तपाईं सबैलाई पिंढीमा बसेको म, यो ठाउँको एउटा पाहुनाको सम्मान फिंजाएको छु । भित्र चुल्होबाट शिखारको मीठो बासना आएकै छ, त्यो मीठो बासना पनि तपाईंलाई । घामको न्यानो र रुखको शितल ओझेल पनि तपाईंलाई । तपाईंको निधारभरि आशिर्वाद र बचनबद्धताका राता अक्षता लगाएर कानमा सिउराइदिएको यो जमरा र हातमा मायाले दिएको यो दक्षिणा स्विकार गर्नु ल । भुईंमा ओछ्याएको काम्लोमा राता अक्षता अलिअलि पोखरिएका छन, ति पोखिएका अक्षतालाई पनि चरेशको थालमा हालेर अरुलाई पनि दशैं मान्न दिउँ है? सानो प्लेटमा कालो कर्कलाको अचार, बटुकामा अलिकति खशीको मासु, थालमा सेलरोटी र मनभरि माया पस्केको छु– एउटा अरु नै गाउँबाट आएको केटाले यो माटोमा दशैं मनाउँदै दिएको उपहार स्विकार्नु ल ।

तपाईंसँग पत्रमा यसरी भलाकुसारी गरेर मेरा औंला थाक्दैनन, मनले रोकिन मान्दैन । तपाईंसँग छुट्टिएर टाढा जान खुट्टाले मान्दै मान्दैनन । तर पनि, म आउने बाटो हेरेर बसेका मेरा बा आमा छन, पुतलीजस्तै फुरफुर गरेर उड्ने सानी छोरी छे, दियो बालेर कुरेर बसेकी मायालु छिन । तपाईंबाट यही पत्रमा दशैं मनाएर म पनि पुग्नु छ–कालीपारको त्यो गाउँमा, जहाँ साथीहरु दशैंको मूलबाटो खन्न कोदालो र हँसिया लिएर मलाई नै कुरेर बसेका छन ।

तपाईंलाई दशैंको मनैदेखि शुभकामना । यो दशैंले हाम्रो साइनो झनै बलियो बनाओस ।

तपाईंलाई माया गर्ने

देवेन्द्र चिनार ।

[sidebar name="After post"]