पर्वत-पर्वतको सदरमुकाम कुश्मा बजारमा यहीँ माघ १५ देखि २४ गतेसम्म संचालन हुने गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव-२०८१ को तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा पर्वत जिल्लामा नै पहिलो पटक खेलकुद महोत्सवको आयोजना गरिएको हो । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । भोलिबाट शुभारम्भ हुने कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गर्ने बताइएको छ ।
‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद’ र ‘खेलकुदको विकास, संस्कृतिको संरक्षण र पर्यटनको प्रवर्द्धन’ भन्ने नाराका साथ ‘ऐतिहासिक गण्डकी प्रदेश स्तरीय वृहत् खेलकुद एवं सांस्कृतिक महोत्सव, २०८१’ को आयोजना गरिएको समितिका अध्यक्ष हर्कमान गुरुङले जानकारी दिए । महोत्सवको सम्पुर्ण तयारी पूरा भएको र भोलिबाट खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने बताउदै सबै दर्शकलाई कार्यक्रम अवलोकनका लागि उनले आह्वान गरेका छन् ।
महोत्सवमा गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल तथा महिला भलिबल प्रतियोगिता, तेक्वान्दो,कराँते, रत्यौली, भजन, पर्वत डान्स आइडल लगायतका गतिविधि महोत्सवमा संचालन हुनेछन ।
पुरुष भलिबलको प्रथम पुरस्कार दुई लाख, द्वितीय पुरस्कार एक लाख, तृतीय पुरस्कार ५० हजार र सान्त्वना पुरस्कार २५ हजार रुपैयाँ रहेको छ । यस्तै प्रथमलाई ५५ हजार र द्वितीयलाई ३३ हजार पुरस्कार राशि रहेको खुल्ला महिला भलिबल प्रतियोगिता, प्रथम पुरस्कार २० हजार र द्वितीय पुरस्कार १० हजार रहेको १५ वर्ष मुनिको पर्वत जिल्ला पालिका स्तरीय छात्र कबड्डी प्रतियोगिता पनि आयोजना गरिएको छ ।
प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको गण्डकी प्रदेश स्तरीय तारो हान्ने परम्परागत खेल पनि महोत्सवको आकर्षणको रूपमा रहेको अध्यक्ष गुरुङले बताए । तेक्वान्दो प्रतियोगिता, कराँते प्रतियोगिता, प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र आठ हजार राशिको रत्यौली गीत प्रतियोगिता, सोही पुरस्कार राशि रहेको लोक भजन चुड्का प्रतियोगिता, विजेता र उपविजेतालाई क्रमशः २० हजार र १० हजार राशि पुरस्कार रहेको पर्वत डान्स आइडोल पनि महोत्सवका आकर्षणका रूपमा रहेका छन् । उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दैनिक रुपमा सांगितिक प्रस्तुतीहरु राख्ने छन् । सांस्कृतिक कार्यक्रम अन्तर्गत लोक तथा दोहोरी गीत सहित अन्य विधाका कलाकारहरुले प्रस्तुत राख्नेछन् ।
महोत्सव सञ्चालन गर्दा करिब ८३ लाख रुपैयाँ खर्च हुने र आम्दानी करिब ९६ लाख हुँदा करिब १३ लाख रुपैयाँ खुद बचत हुने अनुमान आयोजकको छ । आम्दानीले जिल्ला खेलकुद विकास समितिको आफ्नै भवन निर्माणका लागि खर्च गर्न, खेलकुद, कला तथा संस्कृतिको विकासमा टेवा पु¥याउन, पर्वत जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न, पर्वतको उद्योग, व्यापार तथा व्यवसायको प्रवर्द्धनमा सहयोग पुर्याउने, कृषि तथा शैक्षिक उन्नयनमा मद्दत गर्न, स्थानीय प्रतिभा पहिचान र प्रोत्साहन गर्न लगायतका क्षेत्रमा थोरै भए पनि सहयोग गर्न सकिने लक्ष्य राखिएको छ ।
महोत्सव कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा संचालन हुनेछ । महोत्सवमा प्रवेश शिल्क दिउँसो १ सय, साझ २ सय र विद्यार्थीहरुका लागि ७० रुपैयाँ रहेको छ ।साथै जेष्ठ नागरिक, अपांग तथा अशक्तलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।