माछापुच्छ्रेमा जातीय विभेद, घर फोडी आमाछोरामाथि कुटपीट

32

पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भलिबल खेलमा सामान्य विवाद हुँदा जातीय विभेदसँगै कुटपीट समेत भएको छ । १० गते माछापुच्छे्र गाउँपालिका वडा नम्बर ८ ल्वाङस्थित बाराही आधारभूत माविको खेल मैदानमा दिउँसो भलिबल खेल्दा सामान्य भनाभन भएको थियो । विशाल परियार र अमृत गौतमबीचको विवादलाई लिएर अर्का व्यक्ति अरुण गुरुङले ‘त दमैलाई मार्दिन्छु’ भन्दै मैदानमै धम्काएका थिए । गुरुङले परियारकै अगाडि फोन गरेर अन्य व्यक्तिलाईसमेत बोलाएको आरोप छ । अरुणले राति १० बजेको समयमा विशालको घरमा पुगी झ्याल ढाका तोडफोड गरी उनलाई कुटपीट गरेका थिए । छोरालाई जोगाउँदा आमा माथिसमेत उनीहरुले प्रहार गरेका थिए ।
ःल्वाङको दलित समुदायमा यसअघि समेत यस्ता घटनाहरु भइरहे पनि बाहिर आउन सकेको थिएन । घटनापश्चात पीडित पक्ष जाहेरी दिन वडा प्रहरी कार्यालय बगर पुगेका थिए तर बगर प्रहरीले भने जाहेरी लिन मानेन । वडा प्रहरी कार्यालय बगरमा रहेका प्रहरीले पूर्वआइजीपी हेमबहादुर गुरुङले दबाब दिएका कारण जाहेरी दर्ता गराउन नसक्ने जवाफ दिएको पीडितले बताए । विशालले अरुण गुरुङ, आशिष गुरुङ, राजेश गुरुङ देवी गुरुङ, अस्मिता गुरुङ, अमृत गौतम, अनिल विक र विनोद विक गरी सात जनाविरुद्ध जाहेरी दर्ता गर्ने प्रयास गरे पनि प्रहरीले दर्ता नगराएपछि अभद्र व्यवहारको मुद्दा दर्ता गराएका हुन् । घटना बाहिर नल्याउन निकै दबाब र पैसामा मिल्न बारम्बार दबाब दिइरहेको पनि स्रोतले बतायो ।
‘हामी सधैँझैँ भलिबल खेल्न गएका थियौँ । भलिबल खेल्दा खासमा मेरो विवाद भएको अमृत गौतमसँग हो । अरुण गुरुङसँग होइन । अमृतले आमाचकारी लगाएपछि मैले भाइ त्यस्तो नबोल, राम्ररी खेल भनेर भन्दा एक्कासी अरुण गुरुङले ‘त दमैलाई मार्दिन्छु’ भन्दै अरुलाइ मेरै अगाडि फोन ग¥यो । मैले त सामान्य विवाद सकिन्छ भन्ने सोचेको थिएँ,’ विशालले भने, ‘राति घरमै आएर मार्दिन्छु । कतै नभाग भनेर धम्की पनि दिएको थियो । नभन्दै राति साढे १० बजे घरमा आएर घर तोडफोड गरे । मलाई कुटपीट गरे । मेरो आमाले छेक्दा आमामाथि समेत प्रहार भयो ।’ अरुणको समूहले फलामको रड, दाउरा, बाउसोलगायतका सामान लिएर ज्यान मार्ने हेतुले आएको उनको आरोप छ । उक्त घटनाको विशालको परिवारले भिडियो गर्दा भिडियोमा समेत चिर्पट दाउराले प्रहार गरेको देखिन्छ । त्यसरी चिर्पट दाउराले प्रहार गरेको प्रमाण हुँदा पनि प्रहरीले भने अभद्र व्यवहारमा मात्र मुद्दा चलाउँदै छ ।
जिल्ला प्रहरी कार्यालयमा पुगी गेटमा समेत नाम टिपाइ मुद्दा शाखामा पुगेका उनीहरुलाई त्यहीँबाट प्रहरीले वडाले हेर्ने मुद्दा भन्दै फर्काइएको थियो । वडा प्रहरीले पहिला जाहेरी नै लिन नमाने पनि पछि भने जाहेरीमा किटान भएका पूर्वआइजीपी हेमबहादुरको मान्छेको नाम कटाएपछि मात्रै जाहेरी लिने र त्यो पनि ज्यान मार्ने उद्योगमा दर्ता गराउन नमानेपछि पीडितले अभद्र व्यवहारको मुद्दा दर्ता गराउन बाध्य भएका थिए । त्यतिमात्र होइन, जहाँ उनीहरु जाहेरी लेख्न पुगे त्यहाँका व्यक्तिलेसमेत सुरुको जाहेरी लेख्न नमानेको विशालको आरोप छ । ‘प्रहरीले त लिन मानेन माने मुद्दा लेख्ने पनि पूर्वप्रहरी रहेछन् उनले पनि जातीय विभेदको विषय जाहेरीमा हाल्न मानेनन्,’ विशालले भने । वडा प्रहरी कार्यालय बगरका प्रहरी विनोद थापा विशालमाथि खनिदै उल्टै खत्तम मान्छे रहेको भन्दै गाली गरेको उनको भनाइ छ ।
घटनामा घाइते उनको आमाको मेट्रोसिटी हस्पिटलमा उपचार गराइ मणिपाल रिफर गरिएको थियो । मणिपालमा ३ दिन उपचार गराएपछि उनको डिस्चार्ज भएको थियो ।
‘मेरो छोरालाई जोगाउँदा म माथि जाइलागे । छोरा जोगाउँदा ज्यानलिन खोजे । मैले उपचार पनि पाइन न्याय पनि पाइन,’ पीडितकी आमाले भनिन्, ‘उनीहरुसँग दाउरा, बाउसोहरु थियो मैले यसो नगर भन्दा भन्दै चिर्पटले हान्न सुरु गरे ।’ आफूहरुले प्रहरीबाटै न्याय नपाएको उनीहरु सुनाउँछन् । दैनिकी ज्यालादारीबाट गुजारा चलाइरहेको परिवारलाई आर्थिक प्रलोभन समेत देखाएका छन् तर पीडित परिवार भने न्यायको ढोका ढक्ढक्याइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले भने जाहेरी लिन नमानेको विषयबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिए । उनले अभद्र व्यवहारमा परेको जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरेको बताए । उनले भिडियोमा देखिएका व्यक्तिहरुलाई पक्राउ गरेको सुनाए । घटनामा अन्य संलग्न रहेमा उनीहरुलाई समेत पक्राउ गर्ने एसपीको भनाइ छ । ‘अहिले जाहेरी जे परेको छ त्यो आधारमा भिडियो हेरेर तीन जनालाई पक्राउ गरेका छौैं,’ एसपीले भने, ‘यदि कुनै गुनासो भएमा मलाई वा डिएसपीलाई भेट्दा हुन्छ ।’ माछापुच्छे्र गाउँपालिकाले पीडितको उपचार खर्च व्यहोर्ने भएको छ । पालिकाका अध्यक्ष मीनबहादुर गुरुङले समेत पीडितलाई भेटेर मिल्नका लागि आग्रह गरिरहेका विशालले बताए ।

[sidebar name="After post"]