गाउँपालिकाको तर्फबाट सबै सबैलाई शुभकामना !
कति छिटो पो आइपुग्यो दशैं । हिजो अस्ति त हो जस्तो लाग्छ, अघिल्लो पटक शुभकामनाको पत्र लेखेको ।
तपाईंलाई यो पत्र लेख्न बस्दा पारिलो घाम फुत्त आँगनमा खस्यो । किम्मुको हाँगामा बसेको चरीले कति मीठोसँग चिरबिर चिरबिर गरिरहेछ । कान्लामा उभिएका उत्तिसले हाँगा हल्लाएर नाँचिरहेका छन । लसुनबारीमा खोस्रिदै कुखुराले आहारा खोजिरहेका छन । टाट्नाबाट फुकेका बाख्राका पाठा पनि छुनुमुनु छुनुमुनु गर्दै आँगनमै आएर मेरो वरपर खेलिरहेका छन । भर्खर लिपेको पिंढीबाट महाशिलाको माटो मगमग बासना छर्दै हावामा मिसिरहेछ ।
र यो चिठी टाइप गर्दै गरेको ल्यापटपमा गीत बजिरहेछ– बाटो हेरे हुन्छ है आमा । रेशम सापकोटा र विष्णु माझीले यही गित गाउँदै छन ।
महाशिलाको माटोमा एउटा जिम्मेवारी बोकेर आएको आज ६६६ दिन पुगेछ । थाहा छैन, कति छिटो यतिका दिन बिते । फुत्त खसेर गए यतिका दिन । परेला झिम्क्याउँदा पनि अलि लामै समय लाग्छ होला । मुटु धड्किंदा पनि घडीले धेरै पटक सुइ घुमाउँछ होला । एक सर्को हावा तान्दा पनि समयको जेउरो लामै हुन्छ होला । तर यि दिन थाहै नपाइ बिते । आकासबाट बेला बेला खस्ने बिजुलीको गतिमा खसेर गए । धाराको टुटीबाट पहिलो बुँद पानी खसेजस्तै गरी खसेर गए ।
यो सबै तपाईंहरुको मायाले हो । तपाईंहरुसँगको आत्मियताले हो । कति आत्मिय मन छ महाशिलाका हजुरहरुको ।
एसो पछाडी फर्केको, थाँक्रामा अडेस लगाएको झालमा बिऊ काँक्रो झुण्डिएकै छ । केही दिन अघिको त्यो हुरीबतासमा पनि यो झाल लत्रिएन । काँक्रोको भारलाई कलिलो झालले थामिरह्यो । मायाले हावालाई जित्यो । बतासलाई हराइदियो । हो, यही काँक्रोजस्तै भएको छु । तपाईंहरुको मायाले पहेंलो हुँदै पाक्न पाएको छु । मायाको लहरोमा झुण्डिएर आफ्नो अस्तित्व बचाइरहेकै छु ।
भर्खर आकासमा एउटा ठूलो जहाज पश्चिमतिर गयो । त्यो जहाजभित्र हामीजस्तै कति दाजुभाइ दिदीबहिनीको साइतको झोला परदेश उडेका होलान । तिनीहरुका निधारमा लगाएको अक्षता अझै भिजेकै होला, बादलमाथि उड्दा पनि सुकेको छैन होला । दशैंको मुखमै आफ्ना प्रियजनहरुबाट छुट्टिएर जानु उनीहरुको रहर त के होला र ? तै पनि गए । हामीलाई दशैंको भाग छोडेर गए । ति सबैलाई शुभयात्रा ।
अब त घर लिपपोत गरेर चिटिक्क पार्ने बेला भैसक्यो । बजारतिर गएका, मुग्लानतिर गएकाहरु झोला बोकेर घर आउने बेला भैसक्यो । यो पत्र पढ्ने कति त अब घर जाने बेला भयो भन्दै उतै किनमेलमै हुनुहोला । बिदेशमा भएकाहरु अब भोली पर्सिमा त टिकट छ भन्दै लगेजको चेन लगाउँदै हुनुहोला । र घरमा तपाईंलाई कुरेर बसेकाहरुले तपाईंहरु आउने बाटो हेर्दै हुनुहोला । महिनौंपछि, वर्षौंपछिको भेटघाट कति मीठो त हुन्छ नि । महजस्तै मीठो । छिप्पिएको काँक्राको अमिलो पानीजस्तै मीठो । ताईबाट भर्खरै उतारेको सेलरोटीजस्तै मीठो ।
ल्यापटपमा गीत फेरियो । बिमलराज क्षेत्री, बुद्धिराम शर्मा र लक्ष्मी न्यौपानेले गाएको गीत बजिरहेछ– मधुवनैमा, मायाले चोखो माया मर्दैन कहिने नि राखे मनैमा । थाहा छ, यो गीत मलाई कति विशेष छ ? गुल्मीको केटो म । एसएलसी दिन तमघास जानुपथ्र्यो । त्यही एसएलसी दिन पाल्पाको बाटो घुम्दै घुम्दै तमघास गएको बेला मायालु यातायातको बसभित्र दिनैभरी यही गित बजिरहेको थियो । गीतले नोस्टाल्जिक बनाइदियो । अनायासै बिस वर्ष पहिलेको त्यो दिन सम्झाइदियो ।
भन्नुहोला, किन यो गीतको प्रसंग आयो ? किन आफ्नो एसएलसीको याद पोखियो यो चिठीमा ? किन भने नि, यो गीतका शब्द शब्दले मलाई महाशिलासँगको आत्मियता देखाइरहेका छन । यहाँको माया बोलिरहेका छन । मेरो माया पनि त कहिले मर्दैन, महाशिलासँगको । हो त्यही भएर पो प्रसंग सुटुक्क छिराएको । छिराएको हैन साँच्चै, प्रसंग थपेको । अब केही दिनमा सेलरोटी पकाउँदै गर्दा ताइमा तेल सकिन लाग्दा जसरी तपाईंले तेल थप्नुहुन्छ नि, हो त्यसै गरी ।
तपाईंको डिलमा सयपत्री फूले होला । माहुरी भुनभुन गर्दै रस खोजिरहेका होलान । पुतली फुरफुर गर्दै यताउति गर्दै होलान । घरको भित्तोमा कमेरो र रातो माटो लिपिन लागे होला । बाल्टीमा भरेको कमेरे पानीलाई कुचामा भिजाउँदै भित्तैभरि छ्यापछ्याप पार्दै हुनुहोला । त्यही कमेरे छिटाले ज्यानभरि रंग भरेको होला । अनुहारमा त्यो छिटा नपरोस भनेर मजेत्रो, चुन्निले अलिकति आँखा मात्रै देखिने गरी छोप्नुभएको होला । जे होस, दशैंलाई अब घरको बार्दलीमा सुकाउन लाग्नुभएको छ । ढिकीमा, झाँतोमा चामल पिस्ने बेला पनि भैसक्यो । अझ कति घरमा त , यो वर्ष कुराउनी पकाउने पनि होला नि है ? लैजाने होला नि, बुहारीका माइतमा केरा कुराउनी ? मलाई एउटा पछुतो लागिरहेछ, त्यो कुराउनी पकाउने चुलाका अगाडी बस्दै तपाइहरुका मीठा कुरा सुन्न पाए कस्तो हुँदो हो ? सँगै बसेर कुराउनीमा हाल्ने नरिवल भुजुल्याउन पाए कस्तो हुँदो हो ?
अनि केरा कुराउनी आउने घरमा झन कस्तो होला है ? कुराउनीमा बिस्कुट नमिसिए हुन्थ्यो, है ?
जे होस । यो खुशीको बेला हो । रमाइलो मौसम हो । आकासले पनि अब हामीलाई पारिलो घाम मात्रै पठाइदिएको छ । अब झरी खसाल्दिन भनेर चिठी पठाएजस्तै लाग्छ । पढ्नु भयो आकासको त्यो चिठी ? धान काट्ने बेला बाँकी नै छ । धानलाई पनि दशैं मान्न खेतकै गरामा छाडिदिउँ । बरु, बारीका पल्लाछेउमा पसाएको त्यो केराको घरी काट्ने बेला भयो कि ? नत्र नपाक्ला नि दशमीका दिनसम्म । काटेर भुसमा पुरिहाल्ने हो कि ?
सम्झाएको मात्रै है । तपाईंहरुको दाजु भाइ छोरा हुँ, त्यसैले त यति सम्झाउन पाउँछु नि ।
यो वर्ष देशलाई खासै सञ्चो भएन । हामीले देउता मान्ने नदी नै खै किन रिसाए र बगाए हाम्रा आफन्तहरु ? बगेका जिन्दगीका केही अंशहरुले कसरी मान्लान यो दशैं ? कसरी सक्लान अरुका निधारमा भरिएका राता अक्षता र कपालमा सिउरिएका जमरा हेर्न ? ति आफन्तहरुलाई सम्झँदा रुन मन लाग्छ । रोएर जिन्दगी फर्कने भए सँगै बसेर आँसु बगाउन हुन्थ्यो । तर दैवको लिला ! सहनु बाहेक के छ र ? नदीले खाएका ति सबै आफन्तहरुको माया र सम्झना !
महाशिलाका प्रिय बा आमा दाजुभाइ दिदीबहिनी र भाउजूहरु !
तपाईंहरु मखमली फूलजस्तै हुनुहुन्छ । कहिल्यै नओइलाउने । सधैं सुन्दर देखिने । पाखै रमाइलो बनाउने । गाउँ नै रमाइलो बनाउने । सधैं यस्तै रहनु ल । काँस जस्तै फूल्दा पनि त्यही काँसको फूलजस्तै सुन्दर रहिरहनु । निगालोजस्तै नुघ्ने बेला पनि स्वाभिमानलाई हिमालजस्तै राख्नु । किन थाहा छ ? तपाईंहरु यति सुन्दर ठाउँको मान्छे हो नि त । घरिघरि त इष्र्या लाग्छ मलाई, किन म यो माटोमा जन्मिन ?
यो तपाईंहरुको माटोभन्दा अलि पर गुल्मीको माटोमा जन्मे हुर्केको म । थाहा छैन, तपाईंको यो ठाउँसँग किन यति साह्रै मोहित भएको छु ? किन यति माया लाग्छ यो माटोको ? सायद तपाईंहरुको मनले मलाई यस्तो बनायो । मायाले बहुलाउने बनाउँछ । मायाले रुने बनाउँछ । ताइमा हालेको पीठोजस्तै झ्वाँइय गर्दै मनले आवाज निकाल्छ । आहा यो ठाउँ ।
अलि बहकिएँ कि ?
अँ त बहकिएछु क्यारे । तपाईंहरुसँगको सामिप्यताले यसरी बहकाउने बनायो त म के गरुँ ? ड्याम बनाएर मनलाई रोक्न सकिंदो रहेनछ । यसरी बगिरहेको मन पराउने तपाईंहरुको मनलाई कसरी फूल चढाउँ ? देउरालीमा पाती चढाएजस्तै चढाउन मिल्ने भए तपाईंका मनमा मेरो धन्यवाद ? टपक्क राख्न मिल्ने भए तपाईंका हत्केलामा मेरो माया ?
गाउँपालिकाको विकास र समृद्धिको बारेमा पछि अर्को पत्रमा भलाकुसारी गरौंला । तपाईंले पनि यस्तै पत्र लेखेर पठाउनुभयो भने म झनै खुशी हुनेछु । यो पत्र केबल तपाईंलाई दशैंको दक्षिणा मात्रै हो । तपाईं सबैलाई मेरो यो चिठीको आँगनैभरि कालो काम्लो ओछ्याएर राखेको छु । लस्करै बस्नुभएको छ तपाईंहरु– गाउँका सबै बाआमा, दाइ भाउजू, भाइ बहिनीहरु । अनि तपाईंहरुले नै चुनेर पठाउनुभएका जनप्रतिनिधीहरु, गाउँपालिकामा सेवा गर्न खट्नुभएका मेरा प्यारा सहकर्मी साथीहरु, विद्यार्थीहरुको जीवन सुन्दर बनाउन मन–बचन–कर्मले लाग्नुभएका सम्पूर्ण शिक्षकज्यूहरु पनि । तपाईं सबैलाई पिंढीमा बसेको म, यो ठाउँको एउटा पाहुनाको सम्मान फिंजाएको छु । भित्र चुल्होबाट शिखारको मीठो बासना आएकै छ, त्यो मीठो बासना पनि तपाईंलाई । घामको न्यानो र रुखको शितल ओझेल पनि तपाईंलाई । तपाईंको निधारभरि आशिर्वाद र बचनबद्धताका राता अक्षता लगाएर कानमा सिउराइदिएको यो जमरा र हातमा मायाले दिएको यो दक्षिणा स्विकार गर्नु ल । भुईंमा ओछ्याएको काम्लोमा राता अक्षता अलिअलि पोखिएका छन, ति पोखिएका अक्षतालाई पनि चरेशको थालमा हालेर अरुलाई पनि दशैं मान्न दिउँ है ? सानो प्लेटमा कालो कर्कलाको अचार, बटुकामा अलिकति खशीको मासु, थालमा सेलरोटी र मनभरि माया पस्केको छु– एउटा अरु नै गाउँबाट आएको केटाले यो माटोमा दशैं मनाउँदै दिएको उपहार स्विकार्नु ल ।
जे होस ।
यो वर्षको दशैं र तिहारका लागि तपाईंहरु सबैका लागि मेरो मनैदेखि शुभेच्छा । रमाइलो रहोस । मनबाट पोखिने गरी खुशी भरियोस ।
महाशिला गाउँपालिकाभित्रका तपाईंहरु सबैलाई शुभेच्छा र शुभकामना । यो ठाउँमा नजन्मिएको भए पनि, तपाईंहरुको सेवा गर्न आउनुभएका सबै राष्ट्रसेवक साथीहरु ९निजामती, शिक्षक लगायत० लाई शुभकामना ।
कोही दशैं मनाउन घर जाँदै हुनुहुन्छ । म पनि जाँदैछु केही दिनमा । सबैलाई शुभयात्रा पनि ।
यो चिठीलाई बिट लगाउन मनै छैन । तर बिट नलगाइ त भएन ।
प्रिय महाशिलाका हजुरहरु १ सबैलाई लालीगुराँसको रङजस्तै मीठो शुभकामना ।
यो चिठीलाई बिट मार्दै गर्दा फेरी उही गीत बज्दै छ– बाटो हेरे हुन्छ है आमा यसपालिको दशैं र तिहारमा ।
देवेन्द्र चिनार
प्रमुख प्रशासकिय अधिकृत महाशिला गाउँपालिका, पर्वत





