महाशिला गाउँपालिकाद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

46

पर्वत । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि महाशिला गाउँपालिकाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ।

बुधबार बसेको महाशिला गाउँपालिका गाउँकार्यपालिका बैठकले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिनुभयो।

बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट नुवाकोट र रसुवा जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

प्राकृतिक विपद्का समयमा मानवीय सहयोग, सहकार्य र एकताको आवश्यकता रहने उल्लेख गर्दै महाशिला गाउँपालिकाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा जुट्न सबैमा अपिलसमेत गरेको छ।

[sidebar name="After post"]