पर्वतका सातै स्थानीय तहले समयमै ल्याए बजेट (पूर्ण विवरणसहित)

39

पर्वत । संवैधानिक र कानुनी व्यवस्थाको पूर्ण पालना गर्दै पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकासहित सातै वटा स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक बजेट, नीति तथा कार्यक्रम समयमै प्रस्तुत गरेका छन्। असार १० गतेभित्र स्थानीय तहले आफ्नो बजेट नगर तथा गाउँ सभामा प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधानलाई पछ्याउँदै पर्वतका स्थानीय तहहरूले आ–आफ्नो बजेट सार्वजनिक गरेका हुन्।

जिल्लाको कुल बजेटको आकार हेर्दा यसपटक पनि मुख्य प्रशासनिक केन्द्र र जनघनत्व बढी भएको कुश्मा नगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ भने पैयु गाउँपालिकाको बजेट सबैभन्दा सानो रहेको छ।

नगरपालिकाहरूको बजेट

जिल्लाको मुख्य बजार र सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८९ करोड ९९ लाख को बजेट प्रस्तुत गरेको छ। नगरपालिकाले पूर्वाधार विकास, सहरी सौन्दर्यीकरण र शिक्षा–स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ।

यसैगरी, जिल्लाको अर्को नगरपालिका फलेवास नगरपालिकाले ६९ करोड ३ लाख १२ हजार को बजेट सार्वजनिक गरेको छ। कृषि, पर्यटन र ग्रामीण सडकको स्तरोन्नति फलेवासको मुख्य प्राथमिकतामा परेका छन्।

गाउँपालिकाहरूमा मोदी अगाडि

गाउँपालिकाहरू मध्ये सबैभन्दा ठूलो आकारको बजेट मोदी गाउँपालिकाले ल्याएको छ। मोदीले आगामी आवका लागि ७५ करोड १९ लाखको बजेट ल्याएको छ । जलविद्युत र पर्यटनको प्रचुर सम्भावना रहेको मोदीले उत्पादनमुखी क्षेत्रमा ध्यान केन्द्रित गरेको देखिन्छ।

त्यस्तै, उत्तरी पर्वतको जलजला गाउँपालिकाले ५३ करोड १२ लाख को बजेट ल्याएको छ भने महाशिला गाउँपालिकाले रुपैयाँकै हिसाब मिलान गर्दै ४६ करोड ४७ लाख ४८ हजार ४९ रुपैयाँको बजेट पारित गरेको छ।

जिल्लाका दक्षिणी भेगमा रहेका विहादी गाउँपालिकाले ४६ करोड ४५ लाख ३५ हजार र पैयु गाउँपालिकाले ४२ करोड ७१ लाख ६ हजार को बजेट ल्याएका छन्।

पर्वतका स्थानीय तहको बजेट आकार:

कुश्मा नगरपालिका: ८९ करोड ९९ लाख
फलेवास नगरपालिका: ६९ करोड ३ लाख १२ हजार
मोदी गाउँपालिका: ७५ करोड १९ लाख
जलजला गाउँपालिका: ५३ करोड १२ लाख
महाशिला गाउँपालिका: ४६ करोड ४७ लाख ४८ हजार ४९
विहादी गाउँपालिका: ४६ करोड ४५ लाख ३५ हजार
पैयु गाउँपालिका: ४२ करोड ७१ लाख ६ हजार

[sidebar name="After post"]