पर्वत, असार १० — पर्वतको विहादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ४६ करोड ४५ लाख ३५ हजार ९ सय ९८ रुपैयाँको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।
मंगलबार सम्पन्न गाउँसभामा गाउँपालिका अध्यक्ष परविन गुरुङ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा हासिल भएका प्रमुख उपलब्धिहरूबारे जानकारी गराएका थिए। त्यसैगरी उपाध्यक्ष मिना शर्मा तिवारी ले आगामी आर्थिक वर्षका लागि ४६ करोड ४५ लाख ३५ हजार ९ सय ९८ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन्।
गाउँपालिकाले आगामी वर्षका लागि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, पर्यटन प्रवर्द्धन, रोजगार सिर्जना तथा सुशासनका क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ। प्रस्तुत बजेटले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास, सेवा प्रवाहमा सुधार तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ।
गाउँसभामा नीति तथा कार्यक्रम र बजेटमाथि विस्तृत छलफलपछि दुवै प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको हो। गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनअपेक्षाअनुसारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
गाउँसभा मार्फत पारित नीति तथा कार्यक्रम र बजेटले स्थानीय आर्थिक विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आधारभूत सेवाको पहुँच विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।





