पर्वत । पर्वतको महाशिला गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका पालिकाभित्रका नागरिकहरूलाई एकत्रित गरि “महाशिला रिटर्नि क्लब” गठन गरेको छ ।
आज गाउँपालिकाको कार्यालयमा भएको कार्यक्रममा ६ वटै वडाको प्रतिनिधित्व गरि उपस्थित भएका करिब ३० जनाको भेला तथा छलफलबाट उक्त क्लब गठन गरिएको हो ।
सामि कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारमा जाने र फर्केकाहरूलाई आवश्यक जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा त्यस्ता व्यक्तिहरूबीचको सामाजिक एकीकरण र पालिकाको समग्र विकासका लागि योगदान पुर्याउने उद्देश्यले क्लबको स्थापना गरिएको प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयले बताए ।
वडा नं ३ का श्याम बहादुर नेपालीको अध्यक्षतामा गठित क्लबको उपाध्यक्षमा याम बहादुर घर्ती (वडा नं १) र सचिवमा दिल बहादुर सुनार (वडा नं ६) रहेका छन ।
सदस्यहरूका अनिल कुमार बि क र ईन्द्र प्रसाद भुसाल (वडा नं १) सविन गुरूङ (वडा नं २) दुर्गालाल सार्की (वडा नं ३) टोप बहादुर मल्लर वेल कुमारि बि क (वडा नं ५) टेक बहादुर सुनार (वडा नं ६) सर्वसहमतिमा चयन भएका छन ।
गाउँपालिका उपाध्यक्ष धनसुवा वि क को अध्यक्षता र सामाजिक विकास समितिका संयोजक रहेका वडा नं ६ का वडाध्यक्ष गोविन्द वि क को आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेय र सामिका तर्फबाट कुलचन्द्र रेग्मी र उमा पौडेलले सहजिकरण गरेका थिए ।





