पर्वत । दलित कल्याण समूह कुश्माको आयोजनामा र सामाजिक विकास कार्यालय पर्वतको आयोजनामा दलित महिलाहरूका लागि १ दिने नेतृत्व विकास तालिम शनिवार सम्पन्न भएको छ ।
दलित महिलाहरूलाई विभिन्न विषयमा जानकारी प्रदान गरि जागरुक बनाउन तालिम आयोजना गरिएको हो ।
तालिमको उदघाटन गर्दै गण्डकी प्रदेशका पुर्व सदस्य जुनादेवी नेपालीले दलित महिलाको अवस्था नेपालमा अझै पनि चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले दलित महिला जातीय विभेद र लैंगिक विभेद दुबैको दोहोरो मारमा परेको बताउँदै अब उनीहरूलाई सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक हरेक क्षेत्रमा अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीको तर्फबाट विहादी गाउँपालिका कार्यपालिका सदस्य तुल्सी सुनार, सामाजिक बिकास कार्यलयका प्रमुख गोविन्द प्रसाद सुवेदी लगायतले मनतब्य राख्नुभएको थियो ।
दलित कल्याण समुहका अध्यक्ष रेश बहादुर वि.कको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत समुहका संरक्षक एवम् कुश्मा नगरपालिका कार्यपालिका सदस्य शिवलाल सार्कीले र संचालन संचारकर्मी दिपेश वि पोखरेलले गर्नुभएको थियो ।
तालिममा पर्वत बारका अध्यक्ष पुण्य प्रसाद शर्माले कानुन सम्बन्धि,जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नाब निरीक्षक पुर्णिमा थापाले महिला हिंसा सम्बन्धि र संचारकर्मी दिपेश वि पोखरेलले दलित महिलाको भुमिकाका विषयमा सहजीकरण गर्नुभएको थियो ।





