कार्यसम्पादन मूल्याङ्कनमा महाशिला गाउँपालिका जिल्लाकै उत्कृष्ट

571

पर्वत । पर्वतको महाशिला गाउँपालिका कार्य सम्पादनमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन मूल्याङ्कनमा महाशिला गाउँपालिका उत्कृष्ट बन्न सफल भएको हो ।

जिल्लाका सातवटा स्थानीय तहमध्ये महाशिला गाउँपालिकाले ७३ दशमलव ६ प्रतिशत अङ्क प्राप्तगरी पहिलो स्थानमा रहेको छ । जलजला गाउँपालिका ७० दशमलव १ प्रतिशत अङ्क प्राप्तगरी दोस्रो स्थानमा छ । यस्तै, कुश्मा नगरपालिकाले ६४ दशमलव ७ अङ्क प्राप्तगरी तृतीय स्थान बनाउन सफल भएको छ ।

यसैगरी, फलेवास नगरपालिकाले ६० दशमलव ६, मोदी गाउँपालिकाले ५९ दशमलव ९, पैयु गाउँपालिकाले ५८ दशमलव ८ र विहादी गाउँपालिकाले ५४ दशमलव ८ प्रतिशत अङ्क पाएका छन् ।

आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा नगर तथा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।

‘‘सुशासन र पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौं” महाशिला गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले भन्नुभयो, “समन्वय, पूर्वाधार, न्यायिक कामहरु राम्रै छन् । नीति, नियम, कानुन बमोजिमकै कामहरु गरिरहेका छौं । अझै राम्रो गर्ने प्रयास गछौं ।”

महाशिला गाउँपालिका अघिल्लो वर्ष पनि कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा नै पहिलो भएको थियो ।

[sidebar name="After post"]