पर्वत । पर्वतको मोदी गाउँपालिका वडा नं ४ क्याङमा एक परिवारले निर्माण गरेको गोरेटो बाटो, विद्यालयको मञ्च र खेल मैदानको ट्रस्ट उद्घाटन गरिएको छ । स्थानिय पुन परिवारको व्यक्तिगत लगानीमा वडा कार्यालय देखी शिखर युवा क्लबको खेलमैदान सम्म गोरेटो बाटो, बाजुङ आधारभुत विद्यालयमा मञ्च र स्थानिय शिखर युवा क्लबको खेल मैदानमा निर्माण गरिएको ट्रस्ट मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।
स्व गदरास पुन मगरको सम्झनामा माहिला छोरा गुम बहादुर पुन मगर,साहिला छोरा भक्त बहादुर पुन मगर, कान्छा छोरा निल बहादुर पुन मगर,माहिली छोरी डिलमाया पुन मगर, साहिली छोरी ज्ञान कुमारी पुन मगर र कान्छी छोरी मिना पुन मगरले बाटो, मञ्च र ट्रस्ट निर्माण गरेका हुन् ।
बाटो, मञ्च र ट्रस्ट निर्माण गर्न करिब ५ लाख ६६ हजार खर्च भएको गुम बहादुर पुन मगरले जानकारी दिए । ‘सानो भएपनि सामाजिक कार्य गरौं भन्ने उद्देश्यले यस कार्य गरेका हौं,’पुनले भने । परिवारको सल्लाहामा यस कार्य गरिएको पुनले जानकारी दिए ।
‘बुवा आमाले हामीलाई जन्मदिनुभयो,शिक्षा दिएर आत्मनिर्भर वनाउनुभयो,त्यसैले उहाँहरूको सम्मानका लागि सानो भएपनि केही काम गर्नुपर्छ भनेर हामीभाइहरू मिलेर गाउँमा सामाजिक काम गरेका हौं ।’ पुनले भने । पुनले आफु जन्मे हुर्केको गाउँ ठाउँ प्यारो लाग्ने बताउँदै गाउँको विकासका लागि आगमी दिनहरुमा अन्य कामहरु पनि गर्ने बताए ।

गोरेटो बाटो निर्माण भएसंगै अहिले स्थानियबासीहरु आउजाउसँगै पशुचौपायाहरु हिडाउँन सहज भएको स्थानीयले बताए । पुन परिवारको सामाजिक योगदानको गाउँमा प्रशंसा भएको छ ।
त्यस्तै, उद्घाटन कार्यक्रममा पुन परिवारले शिखर युवा क्लबलाई १ लाख, टोल विकास संस्थालाई ५० हजार र स्थानिय तिन समुहलाई १०,१० हजार प्रदान गरेका छन् । साथै स्वः वुवा गदरास पुन मगरको सम्झनामा बाजुङ आधारभुत विद्यालयमा १ लाख र भुमेकोट मन्दिर व्यवस्थापनका लागि ५० हजारको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट गरिब, जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरिने निल पुन मगरले जानकारी दिए । सोही कार्यक्रममा बाटो, मञ्च र ट्रस्ट निर्माणमा जनश्रमदान गर्ने स्थानिय र शिखर युवा क्लबका खेलाडीहरुलाई सम्मान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा आदिवासी जनजाती महासंघ पर्वतका अध्यक्ष सोम पुन, मोदी गाउँपालिका वडा नं ४ का अध्यक्ष मोहनसिंह चोचाङ्गी, मगर संघ पर्वतका अध्यक्ष गणेश पुन, गुम बहादुर पुन मगर, भक्त बहादुर पुन मगर, निल बहादुर पुन मगर, बाजुङ आधारभुत विद्यालयका पधानध्यापक घनश्याम पोखरेल, क्याङ शिखर युवा क्लबका अध्यक्ष याम बहादुर पुन लगायतले मनतव्य राखेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यले गर्नुपर्ने काम परिवारले गरेको भन्दै प्रशंसा गरेका थिए ।
टोल सुधार समितिका अध्यक्ष लाल बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत बाजुङ आधारभुत विद्यालयका शिक्षक डुमाया पुनले र सञ्चालन शिक्षक दिपेन्द्र चापागाईले गरेका थिए । पुन परिवारले समय समय सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।





