पर्वतको फलेवास नगरपालिका भित्र छरिएर रहेका उद्यमी तथा व्यावसायीहरुको व्यावसायिक विकास, हित र प्रवद्र्धनका लागि उद्यमीसँग चौतारी कार्यक्रम सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपाल पर्वत शाखाको आयोजना र फलेवास नगरपालिकाको आर्थिक सहयोगमा एक दिने अन्तरक्रिया गरिएको हो । तालिममा नगर भित्र रहेका कृषि तथा लघु उद्यम गरेका उद्यमीहरुको बाक्लो उपस्थिति रहेको थियो । उद्यमीहरुको संघर्ष, सफलता र चुनौतीको विषयमा व्यापक छलफल गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले नगर भित्रका लघु, घरेलु तथा साना उद्योगीहरुको प्रवद्र्धन र विकासका लागि विगत वर्षदेखिनै रचनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले उद्यमीहरुलाई सिप, पुँजी र प्रविधि सहयोगमा कुनैपनि समस्या नरहेको बताउँदै उद्यमीहरुले निर्वाहमुखि नभै व्यावसायिक रुपमा आफ्नो उद्योगलाई विस्तार गर्न सुझाव दिनुभयो । उहाँले आगामी दिनमा समेत सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले आफु ग्रामीण क्षेत्रमै कृषि, पशुपालन, तरकारी लगायतका उद्यम गरेर अहिले यो अवस्थासम्म आईपुगेको बताउँदै उद्यममा लागेर तत्कालको फाईदा नहेरी निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले अहिले व्यावसायमा लाग्नेहरुलाई धेरै खालका सुविधा रहेको बताउँदै आफु निरन्तर उद्यमीको हकहितका निम्ति काम गर्दै आएको बताउनुभयो । उहाँले आफ्नो डेढ दशक लामो उद्यम क्षेत्रको अनुभवका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले नगरभित्र थुप्रै खालका उद्यमहरु संचालन भएपनि आवश्यक प्रचार प्रसार र प्रवद्र्धनको अभावमा बजारीकरण हुन नसकेको बताउँदै आफ्ना उत्पादनहरुको प्रचार प्रसार गर्न आग्रह गर्नुभयो । उहाले ग्रामीण क्षेत्रमा थुप्रै समस्याका बीच संचालित रुग्ण उद्योगहरुको विकासमा नगरपालिका साझेदारी गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रमा प्रेस चौतारी नेपालका केन्द्रीय सचिब सुष्मा शर्माले उद्यमीहरुलाई आफ्ना उद्यमको प्रवद्र्धन, विकास र विस्तारका लागि अपनाउनुपर्ने उपायहरु र उद्यमीहरुका निम्त उत्प्रेरणा मुलक विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रमा प्रेस चौतारी नेपालका पूर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, फलेवास नगरपालिका वडा नं। ५ का अध्यक्ष नारायणप्रसाद लामिछाने, लघु उद्यमी संघका पूर्व केन्द्रीय अध्यक्ष केशाकुमारी दमिनी लगायतले बोल्नुभएको थियो । प्रेस चौतारी पर्वतका अध्यक्ष कृष्ण अखेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब दिपेश वि पोखरेल र समापन पूर्व अध्यक्ष लक्ष्मण सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागि लघु उद्यमीहरुले आफ्ना उत्पादनले उचित बजार नपाएको गुनासो गरेका छन् । उत्पादन लागत महंगो हुने तर बजारमा त्यस्तै प्रकृतिका बस्तु सस्तो मुल्यमा पाईने भएकाले प्रतिस्पर्धा गर्न नसकिएको गुनासो गरेका छन् । अहिले फलेवास क्षेत्रका महिलाहरुले चुरा, पोते, ढाकाका कपडा, चप्पल, सेनीटरी प्याड, दुग्धजन्य बस्नु, तरकारी, मौरीपालन, अचार लगायतका उद्यमहरु संचालन गर्दै आएका छन् । उद्यमी देउरुपा सुनार, दुर्गाकुमारी क्षेत्री, राधा विक, विन्दु सुवेदी, सृजना बराल लगायले आयातीत बस्तुसँग प्रतिस्पर्धा गर्न कठिनाई हुनुका साथै स्थानीय सरकारले आफ्ना उत्पादनहरुको बजारीकरणमा सहयोग नगरेको गुनासो समेत गरेका थिए ।
फलेवासमा उद्यमीसँग चौतारी कार्यक्रम : उत्पादित वस्तुले बजार नपाएको गुनासो
[sidebar name="After post"]





