
पर्वत । पर्वतको फलेवास नगरपालिका–५ चितिपानीस्थित ऐतिहासिक तथा धार्मिक जिमीरे भगवती मन्दिरमा बाघको शालिक निर्माण गरिने भएको छ।
स्थानीय युवाहरूले देउसी–भैलो कार्यक्रमबाट संकलन गरेको रकमबाट शालिक निर्माण गर्न लागेका हुन्। देउसी–भैलो संयोजक सागर पौडेलका अनुसार मन्दिर परिसरको सौन्दर्य अभिवृद्धि गर्ने र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बाघको शालिक निर्माण गर्ने निर्णय गरिएको हो।
“हाम्रो गाउँको सांस्कृतिक सम्पदालाई संरक्षण र प्रवर्द्धन गर्न युवाहरूले साना–साना पहल गरेर उदाहरण प्रस्तुत गरिरहेका छन्,” संयोजक पौडेलले भने।
बागलुङ भगवतीकी बहिनीका रूपमा मानिने जिमीरे भगवती मन्दिर स्थानीय श्रद्धालुहरूको आस्थाको केन्द्र हो। हाल मन्दिरको आकर्षण बढाउनका लागि विभिन्न संरचना निर्माणको तयारी भइरहेको छ।
स्थानीय युवाहरूले देउसी–भैलोको माध्यमबाट संकलित रकमलाई सामुदायिक र धार्मिक प्रयोजनमा प्रयोग गर्ने निर्णयले सकारात्मक सन्देश दिएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा युवाको यस्तो सक्रियता अन्य स्थानका लागि पनि प्रेरणादायी बन्न सक्ने अपेक्षा गरिएको छ।




