पर्वत । पर्वतको कुश्मा नगरपालिकामा आज एक समारोहबीच नगर स्तरीय बाल सञ्जाल गठन गरिएको छ। बालबालिकाको अधिकार प्रवर्द्धन तथा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले गठन गरिएको सञ्जालमा नगरका सबै वडाबाट प्रतिनिधि सहभागी भएका थिए।
नगरका १४ वटा वडाबाट आएका १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरूको उपस्थितिमा आयोजित भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो। नवगठित बाल सञ्जालको अध्यक्षमा कुशल पौडेल, उपाध्यक्षमा प्रितिमा जिशी, सचिवमा पुजा शर्मा, कोषाध्यक्षमा स्नेह पौडेल,सह- सचीवमा दिप्सन वि.क चयन भएका छन्।
यस्तैमा अरुण रिजाल,सुशान्त अर्याल,सृष्टि नेपाली,राज पुरी,सिद्वान्त पौडेल,आशिष् लामिछाने,नवराज सुवेदी,स्मृति परियार,अर्जुन वि.क लगायत चयन भएका छन् ।
कार्यक्रमको उदघाट्न गर्दै उपप्रमुख स्वस्थानी रिजालले बालबालिकाको सशक्तिकरण, नेतृत्व विकास र बालमैत्री स्थानीय शासन निर्माणमा बाल सञ्जालको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। साथै, उहाँले सञ्जाललाई नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख, विभिन्न विद्यालयका शिक्षक, अभिभावक प्रतिनिधि तथा सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
नवगठित सञ्जालले आगामी दिनमा बाल अधिकार प्रवर्द्धन, जनचेतना कार्यक्रम, बाल हिंसाविरुद्धको अभियान र बालमैत्री नीति निर्माणमा सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ।





