महाशिलाका विद्यालयमा (कक्षा अवलोकन) सुपरीवेक्षण कार्यक्रम सुरु

120

पर्वत । महाशिला गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूमा शैक्षिक क्रियाकलापको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले (कक्षा अवलोकन) सुपरीवेक्षण कार्यक्रम आजबाट सुरु गरिएको छ।

कार्यक्रमको पहिलो दिन महाशिला गाउँपालिका वडा नं. ४ पाखापानीमा अवस्थित श्री विश्वज्योति माध्यमिक विद्यालय र स्वार्म माध्यमिक विद्यालयमा सुपरीवेक्षण सम्पन्न गरिएको हो।
सुपरीवेक्षण कार्यक्रममा महाशिला गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसाल, उपाध्यक्ष धनसुवा विक, शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख सबिता केसी, सहायक शिक्षा अधिकृत नारायण गौतमसहित विभिन्न विषय र तहका विषयगत रोस्टर शिक्षक तथा सम्बन्धित विद्यालयका विषय शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भुसालले शिक्षकहरूले अल्छी गर्न नहुने बताउँदै मनदेखि चाहेमा शिक्षामा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले वर्तमान आवश्यकता अनुसार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।

सुपरीवेक्षण कार्यक्रममार्फत कक्षा शिक्षण–सिकाइ प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्दै शिक्षकहरूलाई आवश्यक सुझाव तथा मार्गदर्शन प्रदान गरिएको छ। साथै, विद्यालयको शैक्षिक कार्यक्रम, शिक्षकको कार्यसम्पादन, विद्यार्थी उपलब्धि तथा भौतिक एवं शैक्षिक वातावरणको समेत अवलोकन गरिएको थियो।

सुपरीवेक्षण टोलीले शिक्षकहरूलाई पठनपाठनमा नवीन विधि अपनाउन, विद्यार्थी केन्द्रित सिकाइमा जोड दिन तथा समग्र विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक सुझाव तथा सल्लाह प्रदान गरेको छ।

[sidebar name="After post"]