स्वधर्म मा.वि.को ६६ औँ वार्षिकोत्सव सम्पन्न

81

पर्वत । महाशिला गाउँपालिका–४ पाखापानीस्थित स्वधर्म माध्यमिक विद्यालयले स्थापना भएको ६६ वर्ष पूरा भएको अवसरमा वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयले हरेक वर्ष पौष १ गते मनाउँदै आएको यो कार्यक्रम यस वर्ष पनि विविध कार्यक्रमसहित सम्पन्न भएको हो ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिका स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, अक्षयकोषबाट प्राप्त ब्याजमार्फत पुरस्कार वितरण, शिक्षक, अभिभावक तथा अक्षयकोषदातालाई सम्मान गर्नुका साथै विविध सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृतप्रसाद सुवेदीको अध्यक्षता तथा महाशिला गाउँपालिका उपाध्यक्ष धनसुवा वि.क.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिले विद्यालयको शैक्षिक उन्नयनमा गाउँपालिकाको सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा महाशिला गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष पूर्णबहादुर मल्लले पाँचौँ राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने सम्पूर्ण खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो । त्यस्तै विशिष्ट अतिथि एवम् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले विद्यालयले वार्षिकोत्सवका अवसरमा आयोजना गर्दै आएको पालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापका लागि आगामी वर्षदेखि आजीवन पुरस्कार सौजन्य गर्ने घोषणा गर्नुभयो ।

कार्यक्रममा महेन्द्रज्योति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एकबहादुर हमाल, महाशिला स्काउट स्थानीय आयुक्त भवराज शर्मा, जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकान्त लम्साल, अक्षयकोषदाता हर्कबहादुर रेग्मी, पूर्व शिक्षक डिलबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वार्षिकोत्सवका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा जनविकास माध्यमिक विद्यालय प्रथम, मदन आश्रित माध्यमिक विद्यालय द्वितीय र स्वधर्म माध्यमिक विद्यालय तृतीय भएका थिए । प्रतियोगिताको निर्णायकमा डम्बरराज जोशी, सीता शर्मा र रेशमलाल चपाईँ रहनुभएको थियो ।

सो अवसरमा वर्ष शिक्षकका रूपमा निमावि तृतीय तहका शिक्षक नारायणप्रसाद पराजुली तथा उत्कृष्ट अभिभावक शोभा भण्डारी सम्मानित हुनुभएको थियो । साथै अक्षयकोषदाता मेखबहादुर क्षेत्री, बमबहादुर क्षेत्री, रामबहादुर भण्डारी र ध्रुव रेग्मीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका सभापति अमृतप्रसाद सुवेदीले विद्यालयसँग चार दशकभन्दा बढी समय अध्यापन तथा प्रशासनिक रूपमा जोडिएको अनुभव स्मरण गर्दै विद्यालयको समग्र शैक्षिक, भौतिक, आर्थिक र सामाजिक विकासका लागि शिक्षक, अभिभावक, समुदाय र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

विद्यालयका प्रधानाध्यापक शेषकान्त शर्माले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन, भावी कार्यक्रम तथा आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका भगवती कुमारी पौडेलले राख्नुभएको थियो भने सञ्चालन शिक्षक नारायणप्रसाद पराजुलीले गर्नुभएको थियो ।

कार्यक्रमबारे जानकारी विद्यालयका सूचना अधिकारी कुलप्रसाद चपाईँले दिनुभएको हो ।

[sidebar name="After post"]