जन्मदिनलाई समाजसेवासँग जोड्दै राहले प्रहरी चौकीलाई प्रिन्टर र फोटोकपी मेसिन सहयोग

17

जन्मदिनलाई समाजसेवासँग जोड्दै राहले प्रहरी चौकीलाई प्रिन्टर–फोटोकपी मेसिन सहयोग

फलेवास, पर्वत। जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उदाहरण प्रस्तुत गर्दै कुस्मा नगरपालिका–४ निवासी समाजसेवी सुस्मा पूनले फलेवास नगरपालिका–४ स्थित राहले प्रहरी चौकीलाई २ इन १ प्रिन्टरसहितको फोटोकपी मेसिन सहयोग गर्नुभएको छ।

मुडीकुवा र देवीस्थान क्षेत्रका सेवाग्राहीले प्रहरी चौकीमा प्रिन्टर तथा फोटोकपी मेसिनको अभावका कारण सेवा लिन कठिनाइ भोग्दै आएको अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयको समन्वयमा उक्त सामग्री प्रहरी चौकी इन्चार्ज उत्तम उर्माजा पूनलाई हस्तान्तरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सहभागीहरूले यस सहयोगले प्रहरी चौकीबाट प्रवाह हुने सेवा थप प्रभावकारी, छिटोछरितो र सेवाग्राहीमैत्री बन्ने विश्वास व्यक्त गरेका थिए। स्थानीय तह, प्रहरी र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउन पनि यस्तो सामाजिक योगदान प्रेरणादायी रहेको उनीहरूको भनाइ थियो।

वडा अध्यक्ष तथा नगर प्रवक्ता अच्युत तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पूर्व वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा समाजप्रति पुर्‍याउनुभएको अनुकरणीय योगदानको कदर गर्दै वडा परिवारका तर्फबाट समाजसेवी सुस्मा पूनलाई दोसल्ला, माला, खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

त्यसै अवसरमा फलेवास नगरपालिका वडा नं. मा सरुवा भई आउनुभएकी वडा सचिव सरस्वती आचार्य तथा प्राविधिक मिलन रिजाललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो।

स्थानीयवासीले जन्मदिनजस्ता व्यक्तिगत खुसीका अवसरलाई समाजहितका कार्यसँग जोड्ने सुस्मा पूनको पहलले अन्य व्यक्तिलाई पनि सामाजिक सेवामा प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

[sidebar name="After post"]