पर्वत । पर्वतको महाशिला गाउँपालिका–५ स्थित लामे बौद्ध गुम्बाको बिहीवार एक समारोहका बीच उद्घाटन गरिएको छ। चारभन्ज्याङ तमु समाज समन्वय केन्द्रका अध्यक्ष क्याप्टेन देउ बहादुर गुरुङले गुम्बाको उद्घाटन गर्नुभयो।
पर्वत जिल्लाकै दोस्रो पुरानो मानिने १४० वर्षे बौद्ध गुम्बा जीर्ण हुँदै गएपछि स्थानीयवासीले ४७ लाख रुपैयाँ संकलन गरी पुनर्निर्माण गरेका हुन्। लामे बौद्ध धर्म सेवा संघको नेतृत्वमा देश–विदेशमा रहेका भक्तजन र शुभेच्छुबाट आर्थिक सहयोग जुटाइएको थियो।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्याप्टेन गुरुङले बुद्धका उपदेश आत्मसात् गर्न सके समाजदेखि राष्ट्रसम्म शान्ति र समृद्धि कायम हुने बताउनुभयो। गुम्बाको संरक्षण र पुनर्निर्माणले बुद्ध दर्शनको प्रसार–प्रचारसँगै स्थानीय पर्यटन विकासमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा प्रमुख लामा ख्यान रेम्पोछेले प्रवचन दिँदै उपस्थित भक्तजनलाई आशीर्वाद प्रदान गर्नुभएको थियो। त्यस्तै, चारभन्ज्याङ तमु समाज यूकेका पूर्व अध्यक्ष मदन गुरुङ, क्याप्टेन ठाकुर प्रसाद गुरुङलगायतले पनि मन्तव्य राखेका थिए।
लामे बौद्ध धर्म सेवा संघका अध्यक्ष डम्बर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य ठाकुर प्रसाद गुरुङले र सञ्चालन कृष्ण कुमार गुरुङले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न चन्दादातालाई सम्मान पत्रमार्फत सम्मान गरिएको थियो।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा पहिलो दिन विविध सांस्कृतिक प्रस्तुति राखिएको थियो ।





